काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार (फागुन २९) बिहानैदेखि होली विशेष चेकिङमा कडाइ गरेको छ । होली पर्वमा मादक र लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन रोक लगाइएको छ । त्यसरी चलाइएका सवारीसाधनलाई बिहानैदेखि ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी प्रवक्ता एवं एसपी सञ्जयबहादुर राउतले बताए ।
काठमाडौं उपत्यकाका ८३ ठाउँमा सादा पोसाकका प्रहरीसहितको चेकिङ भइरहेको उनले जानकारी दिए । “उपत्यकाका ८३ ठाउँमा सिभिल पुलिससहित चेकिङ भइरहेको छ । ६९४ जना ट्राफिक प्रहरी परिचालन गरिएको बताए।
हेल्मेट नलगाई चलाउने, दुईपांग्रेमा तीन/चारजना बसेर कुदाउने सवारीसाधनलाई पनि होल्डमा राखिने उनले बताए । “मापसे गरी सवारी चलाउने, मोटरसाइकल, स्कुटरमा तीन/चारजना राखेर हिँड्ने, लापरबाही गरेर सवारी चलाउने, ओभर स्पीड सवारी हाँक्नेलाई बेलुकासम्म होल्डमा राख्छौँ,” उनले भने ।
आजै बेलुकासम्म होल्डमा राखिने सवारीसाधनका धनीलाई कसुरअनुसार जरिवाना तिराइनेछ । उनीहरूले सचेतना कक्षा पनि लिनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । “बेलुकासम्म होल्डमा राखिएका सवारीचालकलाई कसुरअनुसारको जरिवाना तिराउछौँ । उहाँहरू सचेतना कक्षामा पनि सहभागी हुनुपर्नेछ,” एसपी राउतले भने । झगडा र उच्छृंखल गतिविधि गर्नेलाई सादा पोसाकका प्रहरीको सहायतामा पक्राउ गरी कारबाही अगाडि बढाइने उनले बताए ।