मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न त्रिविको आह्वान

काठमाण्डौँ - त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ ।

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना निकालेर असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो । त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।

मर्ज हुन चाहेका क्याम्पसको बेग्लाबेग्दै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय पेस गर्नुपर्नेछ । साथै समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख छ ।

त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र झण्डै डेढ सय आङ्गिक क्याम्पस सञ्चालनमा छन् ।