हेलिकप्टर उडान सुरक्षित बनाउन ५ नयाँ नियमहरु के-के छन् ? 

काठमाण्डौँ - नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ । हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो ।

हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यी हुन् पाँच नयाँ नियम

१. नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि स्पेसल टास्क फोर्सु गठन गर्ने निर्णय गरेको छ ।

२. हेलिकप्टर सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भइरहेको अनुमति कार्य चालु मनसुन सेप्टेम्बरसम्म साप्ताहिक रूपमा समीक्षा गरी प्राधिकरण प्रधान कार्यालयबाट नै प्रदान गर्ने ।

३. हेलिकप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्छ ।

४. प्राधिकरणले आगामी सेप्टेम्बरसम्मका लागि तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ। प्राधिकरणको नयाँ नियमअनुसार चालु मनसुन अवधि सेप्टेम्बरसम्म विशेष प्रकृतिको हेलिकप्टर उडानस माउन्टेन, सिलिङ तथा पुष्पवृष्टि सञ्चालन निषेध हुनेछ ।

५. सेयर सदस्य लगानीकर्ताका रूपमा हेलिकप्टर कम्पनीमा संलग्न भई हाल सञ्चालन गर्दै आएका हेलिकप्टर चालकहरूलाई व्यावसायिक उडान सञ्चालनमा रोक लगाउने ।