साढे २४ लाख घुस लिने प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध मुद्दा दायर

भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारीविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । चाँगुनारायण नगरपालिका मा रहेको १४ रोपनी ४ आना क्षेत्रफलको जग्गा मोही र लगत कट्टा गरी मोहीको नाममा प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस मागिएको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा अख्तियारको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको थियो । आचार्य र राउतको साथबाट मोबाइल सहित घुस बापत लिएको भनिएको २४ लाख ५० हजार समेत बरामद गरिएको हो ।

सेवाग्राहीसँग मिलेमतोमा जग्गाको मोही बाँडफाँड तथा नामसारी प्रक्रियालाई सहजीकरण गर्ने बहानामा उक्त घुस रकम मागिएको पुष्टि भएको आयोगका प्रवक्ता एवम सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार टिकाराम राउतले उक्त रकम लिएको र त्यो कार्य कुमार आचार्यसँगको योजनाअनुसार भएको अनुसन्धानबाट खुल्न आएको हो ।

दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ अनुसार कसुर कायम गरी २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ । त्यसैगरी, दफा ३ को उपदफा १ घ अनुसार कैद र बिगो बराबर जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरिएको हो ।