जलविद्युत् उत्पादक गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद, झण्डै चार करोड जरिवाना

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका न्यौपानेलाई आइतबार सजाय निर्धारण गरिएको हो। न्यौपानेलाई तीन करोड ९८ लाख २० हजार ५०४ रुपैयाँ जरिवाना पनि तोकिएको छ। उनले सार्वजनिक कम्पनीको शेयरको भित्री कारोबार गरेको अभियोग थियो। आफै अध्यक्ष रहेको कम्पनीको शेयर कानूनविपरीत बिक्री गरेका थिए। बिक्री गरिएको रकमलाई बिगो मानेर अदालतले त्यसको दोब्बर जरिवाना गरेको हो।

त्यसैगरी, न्यौपानेले एक करोड ९९ लाख १० हजार २५२ बराबरको रकम सम्पत्ति शुद्धीकरण गरेको ठहरसहित अदालतले सो रकम बराबरको सम्पत्ति जफत हुने फैसला समेत गरेको छ। न्यौपानेलाई कानूनबमोजिम दुई वर्षको कैद सजाय तोकिए पनि उनको उमेर ७३ वर्ष भइसकेकाले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ तथा उनको सामाजिक पारिवारिक दायित्व हेरेर कैद सजाय आधा घटाइएको विशेष अदालतको संक्षिप्त फैसलामा उल्लेख छ।

रिडी हाइड्रोपावर कम्पनीको अध्यक्ष रहेका न्यौपानेले धितोपत्र बजारमा प्रतिकूल असर पर्नेगरी ३४ हजार कित्ता शेयरको भित्री कारोबार गरेका थिए। धितोपत्र बजारमा सूचिकृत संगठित संस्थाका पदाधिकारीले पदमा रहुन्जेल वा पदबाट मुक्त भएको एक वर्षसम्म आफू सम्बद्ध कम्पनीको शेयर किनबेच गर्न कानूनले रोक लगाएको छ। तर कानूनी प्रतिबन्धका बावजूद न्यौपानेले रिडी हाइड्रोपावरको ३४ हजार कित्ता शेयर किनबेच गरेका थिए।

अध्यक्ष भएको वेला रिडी हाइड्रोपावरमा भित्री कारोबार गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गत कात्तिक २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गत चैत ६ गते नै उनी दोषी ठहर भइसके पनि अदालतले आइतबार सजाय निर्धारण गरेको हो। शेयरको भित्री कारोबारलाई सम्पत्ति शुद्धीकरणको रुपमा मुद्दा दायर भएको यो पहिलो पटक हो।