जनकपुर जयनगर रेल सेवा रातमा पनि सञ्चालन, दैनिक ४ पटक रेल आवतजावत हुने 

 काठमाडौँ - नेपालको कुर्थादेखि भारतको जयनगरसम्म शुक्रबारदेखि दैनिक ४ पटक रेल आवतजावत हुने भएको छ ।

हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दैनिक ४ पटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै शुक्रबारदेखि ४ पटक आवतजावत गर्ने गरी सञ्चालनमा आउने भएको हो ।

नेपाल रेलवे कम्पनीका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ । भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्नेछ । यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ ।