कालिकोटमा गाडी तार्ने फेरि बनाउँदा २५ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्ष/उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ। काम सम्पन्न नभएको अवस्थामा सम्पन्न भएको भनेर अनियमितता गरिएको आयोगको अभियोग छ। 

गाउँपालिकाका तत्कालिन अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपाने, वडा नम्बर ९ का तत्कालिन अध्क्ष्यक्ष टक्कबहादुर बम, तत्कालिन निमित्त प्रशासकीय अधिकृत  राजबहादुर बम, इन्जिनियर खडानन्द रिजाल, सबइन्जिनियर बिनोद कुमार बमविरुद्ध मुद्दा दायर भएको हो।  त्यस्तै, गाउँपालिकाका तत्कालिन सहलेखापाल नन्दबहादुर शाही र कर्णाली नदी फेरि निर्माण उपभोक्ता समितिाक अध्यक्ष वीरजित रोकाय सचिव अंक विश्वकर्मा र कोषाध्यक्ष पर्दशिना बमलाई प्रतिवादी बनाइएको छ । उनीहरुले २५ लाख ६ हजार ५२ रुपैयाँ अनियमितता गरेको अभियोग छ । 

आर्थिक वर्ष २०७७/७८ मा यस्तो अनियमितता भएको आयोगले जनाएको छ । तत्कालिन उपाध्यक्ष न्यौपानेविरुद्ध यसअघि पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकोमा पछि बिशेष अदालतबाट सफाई पाएकी थिइन्।