स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरूद्ध मुद्दा दर्ता

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईविरूद्ध मंगलबार मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले राईविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनीमाथि यस प्रकरणमा पूरक अनुसन्धान भएको हो।

उनी २०७३ कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म उक्त संस्थाकी सदस्य रहेकी थिइन्। त्यस समयमा ८९ लाख ३४ हजार ४५५ रुपैयाँ र २०७४ मंसिर ८ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सचिव पदमा रहँदा कार्यसमितिको नाममा भएको एक करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ गरी जम्मा दुई करोड ३१ लाख ४४ हजार ८८८ रुपैयाँ अपचलन भएको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ।

सरकारी वकिलले उनको कार्यकालमा उक्त रकम बराबरको हिनामिना भएको भन्दै बिगो रकम कायम गरेको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए। उक्त रकम ठगी गरेको भन्दै सरकारी वकिलले ठगी तगा संगठित कसुरमा सजाय माग गरेको छ।