समलिङ्गी विवाह दर्ता गर्न काठमाडौं जिल्ला अदालतद्वारा अस्वीकार

काठमाण्डौँ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि जिल्ला अदालत, काठमाडौंले समलिङ्गी विवाह दर्ता गर्न अस्वीकार गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले समलिङ्गी विवाह दर्ता गर्न अस्वीकार गरेको हो ।

जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत दर्ताद्वारा विवाह गरिपाऊँ भनी निवेदन दिने दुवै व्यक्ति फरक लिङ्गका महिलापुरुष नदेखिएको अवस्थामा निवेदन बमोजिम दफा ७७ मा उल्लिखित व्यवस्था विपरीत दर्ताद्वारा विवाह गराउन मिलेन ।’

मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ मा अदालतमा विवाह दर्ता गर्न सकिने व्यवस्था छ। त्यस अनुसार पूर्व सांसद सुनीलबाबु पन्तसँगै समलिङ्गी जोडी विवाह दर्ता गर्न जिल्ला अदालत पुगेको थियो । यसअघि उनीहरू विवाह दर्ताको माग गरी सर्वोच्च अदालत पनि पुगेका थिए । सर्वोच्च अदालतले उनीहरूको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो ।