पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सीडीई) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सीडीई) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सीडीई यादवउपर बिगो ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो। यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा आयोगले अनुसन्धान गरेको जनाएको छ। 

त्यस शिलशिलामा यादवको सुरू नियुक्ति भएको २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा उनले प्राप्त गरेको पारिश्रमिक/तलब बचत वापतको रकम, दैनिक भ्रमण भत्ता बचत वापतको रकम, जीवन बीमाको अवधि समाप्ति पश्चात प्राप्त रकम, हिमाल आरोहणको क्रममा सम्पर्क अधिकृत भई कार्य गर्दा प्राप्त गरेको रकम, आंशिक समय परामर्शदाताको रुपमा काम गर्दा प्राप्त गरेको रकम, घर बहालमा दिँदा प्राप्त रकम, बैठक भत्ता बचत वापतको रकम, कर्मचारी सञ्चय कोष र स्वदेशी बैंकबाट लिएको कर्जा सापटी रकम, कृषि आय वापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय रकम, बैंकमा रहेको मुद्दती तथा बचत खातामा भएको मौज्दातमा प्राप्त ब्याज रकम, बिभिन्न कम्पनीहरूको शेयर बिक्रिबाट प्राप्त रकमसमेत गरी निज सचिन्द्र कुमार यादव र निजका एकाघर परिवारका सदस्यहरूले जाँच अवधिमा कुल २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा आय आर्जन गरेको देखिएको छ।

सोही जाँच अवधिमा उनको व्ययतर्फ घरजग्गा खरिदररजिष्ट्रेसन दस्तुरसमेतको रकम, घर निर्माण खर्च, कर्मचारी सञ्चय कोष र बैंकबाट लिएको कर्जा सापटीको साँवा व्याज भुक्तानी रकम, बिभिन्न कम्पनीहरूको शेयर खरिदमा भएको लगानी रकम, शैक्षिक खर्च, जीवन बीमाको प्रिमियम भुक्तानी रकमका साथै, निज र निजको परिवारको नाममा रहेको बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको बैंक मौज्दात रकमसमेत गरी जाँच अवधिमा कुल रू ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारको भनाई छ।

जाँच अवधिमा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको अख्तियारको ठहर छ। सो रकम बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवाना हुन साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत हुन एवं निजले वार्षिक रुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेकोसमेत पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा कैद जरिवाना हुन मागदावी लिइएको छ।

साथै, यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज आशा कुमारी यादवलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।