पक्राउ परेका १० बैंकरहरु हाजिर जमानीमा छुटे

काठमाडौं धितो  कमसल  राखी श्रृण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना बैंकरहरुलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ। पहिलो चरणको छानबिन, अनुसन्धान पूरा भएपनि दोश्रो चरणको अनुसन्धान बाँकी रहेकोले बैंकरहरुलाई हाजिरी जमानीमा छाडिएको हो। 

प्रहरीले उनिहरुलाई  फागुन १५ मा पक्राउ गरेको थियोे । दोस्रो चरणको अनुसन्धान भने प्रहरीले नेपाल राष्ट्र बैंकको विज्ञ समूहसँग मिलेर सुरु गरेको छ। 

घटनामा संलग्न रहेकोे भन्दै सिआइबीले न्यौपानेसहित तत्कालीन सेन्चुरी बैंकका सिइओ तुलसी गौतम, कर्मचारीहरु दिलीप बराल,  राजेश भण्डारी, अनुपमा श्रेष्ठ, सुवासबहादुर श्रेष्ठ , रमना श्रेष्ठ, दिपेश प्रधान र सुनील बस्नेतलाई पक्राउ गरेको थियो । 

सेन्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष  रवीन्द्र चौलागाईंको विभिन्न कम्पनीलाई २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७११ रुपैयाँ श्रृण लगानी गरिदिएका थिए । एक अर्ब १४ करोड बराबर रुपैयाँको मात्रै जग्गा धितो राखेका थिए । दोश्रो चरणको अनुसन्धान सकिए लगत्तै उनिहरुलाई पुनः पक्राउ गरी अदालतमा पेस गरिने छ।