अब माइक्रोबस र जीप चढ्न नयाँबसपार्क जानुपर्ने

काठमाडौँ - के तपाई काठमाडौँभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोँगबुस्थित नयाँबसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेको छ ।

सो व्यवस्थासँगै अब काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा ‘काउण्टर’ राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । उक्त निर्णय कार्यान्वयनसँगै अब काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने झण्डै दुई हजार सार्वजनिक माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन्छन् । रातका समयमा जुन ठाउँमा पार्किङ गरेपनि यात्रु चढाउनका लागि नयाँबसपार्कभित्र पुग्नुपर्ने हुन्छ ।

नयाँबसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणको कामलाई समेत तीव्रता दिएको छ । लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माण गर्ने काम भइरहेको बताउँछन् । “नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ,” उनी भन्छन् । #rss news