नक्कली सुन ६० हजारमा बिक्री गरी ठगेको आरोपमा भारत सिलगुढीका ५४ वर्षीय शेरबहादुर गिरी पक्राउ

झापामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा प्रहरीले भारत सिलगुढीका ५४ वर्षीय शेरबहादुर गिरीलाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडमा ६० हजार रुपैयाँमा नक्कली सुन दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

उनले शनिश्चरे रोडमा ४५ वर्षीया सबिता सिटौलालाई भेटेर सस्तोमा सुन दिने बताएका थिए। त्यसरी काँचो सुन दिने भन्दै फकाएर गिरीले ६० हजार रुपैयाँ सबिताबाट लिएका थिए। त्यसबापत सुन जस्तो देखिने बिस्कुट आकारको नक्कली सुन हातमा दिएका थिए। उक्त सुन भनिएको धातु नक्कली रहेको खुलेपछि प्रहरीलाई खबर गरिएको थियो। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले गिरीलाई पक्राउ गरेको हो।