डोल्पामा यार्सागुम्बा संकलन खुला

जाजरकोट - डोल्पाका पाटनमा पाइने यार्सागुम्बा सबैका लागि खुला गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका साथै सामुदायिक वन समूहले यार्सागुम्बा खुला गरेका हुन् ।

तीन दर्जन पाटनमा यहाँ यार्सागुम्बा पाइने गर्दछ । यार्सागुम्बा संकलन गर्न जुम्ला, जाजरकोट, रुकुमपश्चिम र मुगुका सर्वसाधारणहरू आउने गर्छन् । यार्सा संकलन गर्न पाटनमा प्रवेश गरेबापत निश्चित शुल्कसमेत तोकिएको छ । जेठ १ गतेदेखि सुरु भएर असार १ गतेसम्म मात्र पाटनमा यार्सागुम्बा संकलन गर्न दिने निकुञ्जले जनाएको छ । यार्सागुम्बा संकलनकर्तालाई पाटन क्षेत्रमा प्रवेश गर्दा फोहोर नगर्नसमेत निर्देशन दिइएको छ ।