भ्रुण हत्या र बलात्कारको आरोप लागेका एमाले नेता महेश बस्नेतमाथिको अनुसन्धान तामेलीमा

एमाले नेता महेश बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि अनुसन्धान नगर्ने भएको छ । प्रारम्भिक अनुसन्धानमा जाहेरीअनुसार तथ्य नमिलेको भन्दै पछि खुलेका बेला अनुसन्धान अघि बढाउने गरी जाहेरी तामेलीमा राख्न काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार, काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राख्ने निर्णय भइसकेको छ । ‘प्रथम दृष्टिमा जाहेरीमा भनिएजस्तो देखिएन भन्ने प्रहरीको भनाइ रह्यो’, स्रोतले भन्यो, ‘अनुसन्धान अधिकृतको सिफारिस अनुसारको निर्णय सरकारी वकिलबाट भएको छ ।’

बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो । तर, प्रहरीले अनुसन्धानका क्रममा जाहेरीमा भनिएअनुसार जबरजस्ती करणीमा संलग्न भएको आधारहरु नभेटिएको भनेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, सरकारी वकिल र प्रहरीबीच छलफलपछि जाहेरीमा प्रस्तुत विषयहरु तथ्यसंगत नदेखिएपछि तामेलीमा राख्ने निर्णय भएको हो ।