डेढ महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेन 

 मकवानपुर - बागमती प्रदेशसभा डेढ महिनादेखि ठप्प छ । गत असार २२ गते बजेट पारित गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा बैठक हालसम्म पनि आह्वान हुन सकेको छैन ।

पर्याप्त बिजनेस नहुँदा विगत ४१ दिनदेखि प्रदेशसभा बैठक आह्वान गर्न सकिएको छैन भने सरकारले सदनमा नयाँ विधेयक दर्ता नगर्दा कानुन निर्माणको प्रक्रियासमेत ठप्प छ ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार संसदमा हाल नयाँ विधेयक दर्ता भएका छैनन् । यसअघि दर्ता भएका विधेयक प्रदेशसभाबाट पारित भइसकेको र एउटा विधेयक प्रदेश प्रमुखबाट फिर्ता भइ आएको उनले बताए ।