आजदेखि मलमास सुरू, के गर्न हुन्छ के गर्न हुँदैन ? 

काठमाडौँ - आजदेखि मलमास अर्थात् अधिमास सुरू भएको छ । साउन महिनाको पहिलो दिन नै संयोगले सोमबार र औंशी परेको भए पनि लगत्तै २ गतेदेखि मलमास सुरू भएको छ । साउनको सुरूदेखि नै मलमास लाग्ने भएकाले मानिसहरूमा विभिन्न खालका अन्योलता समेत सृजना भइरहेको छ ।
आजदेखि सुरू भएर साउन ३१ गते बुधबार समाप्त हुने मलमासको अवधिभित्र के–के गर्न हुन्छ, के–के गर्न हुँदैन ? यसबारे स्पष्ट पार्ने प्रयासस्वरुप संक्षिप्तमा तल चर्चा गरिएको छ ।

१ अधिमासका बेला यसअघिदेखि गरिँदै आएको नियमित कार्यहरू गर्न हुन्छ । जस्तैस् यदि कोही पनि व्यक्तिले विगतका वर्षहरूमा साउनको सोमबार ब्रत गर्दै आउनुभएको छ भने यस वर्ष पनि नियमित रुपमा गर्न हुन्छ । तर यदि यसै वर्षबाट आरम्भ गर्न खोज्नु भएको हो भने नगर्दा वेश हुन्छ ।

२ मलमासको अवधिमा तिथि पर्वले पर्ने कार्यहरू अर्थात् नैमित्तिक कार्यहरू गर्न हुन्छ । जस्तैस् यस अवधिमा पर्ने जन्मोत्सव, बच्चा जन्मिएमा गरिने न्वारन, अन्त्य संस्कार, श्राद्ध कर्म आदी ।

३ यस अवधिमा काम्य कर्महरू भने गर्न नहुने बिधान रहेको छ । जस्तै नयाँ गृह आरम्भ, नयाँ गृह प्रवेश, कुवा तलाव खन्ने, ईनार खन्ने, नयाँ बगैचा निर्माण, ब्रतवन्ध, विवाह आदी जस्ता दीर्घकालीन असर रहने कार्यहरू ।

४ नवविवाहित दम्पत्तिले मलमास बार्ने बिधान रहेको छ । अर्थात् नवविवाहित दम्पत्ति मलमासको अवधिमा सम्मिलन नगर्ने निर्देश रहेको छ । अर्थात् यस अवधिमा नवविवाहित जोडी सकभर मलमासभर बेग्ला–बेग्लै बस्नु उपयुक्त हुन्छ ।

५ यस अघिका वर्षहरूमा नियमित रुपमा रुद्राभिषेक अर्थात् रुद्री गर्ने गर्नुभएका व्यक्तिहरूले मलमासमा पनि नियमित रुपमा रुद्राभिषेक कर्म गर्न हुन्छ ।