संखुवासभा - सङखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ ।
छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिएका हुन् । यही साउन २४ गते बिहान भएको सो घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो ।
टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो । कारागारमा रहेका ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको पाण्डेले बताए ।