सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङलाई थुनामा पठाउन आदेश, दीपेश पुनसहित ६ जनासँग धराैटी माग

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ ।

न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस्तै अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सहित दुर्गा पाण्डे चापागाईं, दीपक न्यौपाने, नीता थापामगर, नवीन अछामी र रोशनी गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले दीपेशसँग चार लाख, दुर्गासँग १८ लाख, दीपकसँग चार लाख ४५ हजार, नीतासँग दुई लाख, नवीनसँग १० लाख र रोशनीसँग दुई लाख रुपैयाँ धरौटी माग गरेको छ । यस्तै अदालतले कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश दिएको छ ।

पक्राउ परेकाहरूले सुप्रिम सहकारीका एक हजार आठ सय जनाभन्दा धेरै बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोप छ । सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।