पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन, मन्दिरमा पछिल्लोपटक ९८ तोलाभन्दा बढी सुन संकलन

पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन स‌कलन गरी तौल गरिएको तौल मूल्या‌ंकन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए। उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन। यस्तै, सोही अवधिमा नै ९२ किलो ६ सय ५० ग्राम चाँदी स‌ंकलन भएको छ। चाँदीसमेत रिफाइन गरिएको छैन।

गत वर्षको भदौ ७ देखि गएको मंसिर १६ गतेसम्म मन्दिरमा स‌ंकलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। यसअघि दुई वर्षको अवधिमा स‌ंकलित सुनचाँदीको विवरण यकिन भएको थियो। उक्त विवरणअनुसार ०७७ साल भदौ १८ देखि ०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल छ।

दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन। यसपटक संकलित सुन रिफाइन पछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

यस्तै, पाथीभरामा संकलन भएको भेटी रकमसमेत गणना भइरहेको छ। मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङबाङले बताए। अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ।