अनुदान घटेपछि रासायनिक मलको मूल्य यथावत

काठमाडौं - सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने भएको छ । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।

सरकारले यसअघि मलमा दिँदै आएको अनुदान  काट्ने निर्णय गरेको थियो । मलको अनुदान काट्दा चौतर्फी आलोचना र विरोध भएपछि अनुदान यथावत् राख्न सरकार बाध्य भएको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएका छन् । 
यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।