कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

अहिले देशको पश्चिमी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । सूदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएरातिदेखि देशको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा धेरै पानी परिरहेको छ । पूर्वी नेपालमा वर्षा घटेको र पश्चिममा धेरै वर्षा गराउने प्रणाली अबको ४–५ दिन नै सक्रिय हुने सम्भावना रहेको जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो ।

अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यस्तै भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेकोले देशभरको आकाशमा बादल लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र मधेस प्रदेशमा हावाहुरी र चट्याङसहितको वर्षा हुन सक्ने सम्भावना  छ । यस्तै राति पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।