सर्लाहीमा गाडीकाे ठक्करबाट छठ व्रतालुकाे ज्यान गयाे

सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गएकाे छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए।

नोचामा रहेकाे छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा त्यही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हबलदार सुबोधकुमार यादव घाइते हुनुभएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । बायाँ खुट्टा भाँचिएका हबलदार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ ।

सडक छेउमा रोकिराखेको बाग्मती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।