काठमाडौँ - राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो । एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेका छन् ।
कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ । ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै राम्रो नि ’, एमालेका एक पदाधिकारीले भने ।
ती पदाधिकारीका अनुसार यसो गर्दा पार्टी एकता पनि हुन्छ र कांग्रेससँग संसदमा हैसियत बराबर हुन्छ। संविधानको धारा ७६ ३ मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन् । एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ ।
पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक रहेको स्रोतको भनाइ छ । ती स्रोतका अनुसार नेपाल राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार छन् । जसका लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने उनको अडान छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।