सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने 

पाल्पा - सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काममध्ये रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले वैकल्पिक सडकको व्यवस्थापन गरेर विहान ११ बजे देखि २ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । यस्तै रातिको १० बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने निर्णय भएको छ ।

आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरउन्नति गरेर मात्र काम गर्न दिने निर्णय भएको प्रजिअ पन्तले बताए ।