कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौं - काठमाडौं महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ।

छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्यवस्थापन नगरेको जस्ता समस्या थोरैको सङ्ख्यामा आउने गरेको भए पनि ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित अर्थात घर खाली गराइदिन अनुरोध गर्दै आउने गरेको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

उनका अनुसार कामपामा आउने उजुरीमध्ये हरेक दिन कोठा खाली गरिदिनुपर्‍यो भन्दै आउने उजुरी बढी छ। पछिल्लो समय सहकारी सञ्चालकहरूले कार्यालय नै बन्द गरी घरभेटीसँग सम्पर्कविहीन भएका उजुरी पनि अत्यधिक बढिरहेको छ।

यसरी आउने उजुरीमा व्यक्तिगत प्रयोजनका लागि भाडामा दिएका र संस्थागतरूपमा नै भाडामा दिएका दुवै किसिमका उजुरी उत्तिनै छन्।

भाडामा बस्ने सम्पर्कमा नआउने अधिकरूपमा यस्ता किसिमका उजुरी पर्ने गरेका छन्। संस्थागत होस् या व्यक्तिगत दुवै किसिमले भाडामा लगाउनेहरूले लिखित सम्झौता नगर्ने हुँदा यस्ता किसिमको समस्या बढी आउने गरेको कामपाको ठहर छ।

यस किसिमको समस्या समाधानका लागि कामपाले पछिल्लो समय निर्देशिका नै जारी गरेर घरधनी र भाडामा बस्नेबीच लिखितरूपमा नै सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने जनाएको छ।