अमेरिकाको पिआर लिएको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध मुद्दा दायर गरेको छ। यसअघि अख्तियारले पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै २ अर्ब  ६९  करोडको मुद्दा हालेको थियो।

अहिले भने उनलाई अमेरिकाको पिआर लिएको आरोपमा मुद्दा दायर गरेको हो। विदेशी मुलुकको स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति भएर पनि नेपालमा राष्ट्र सेवकको ओहदा लिइ लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए।

यो मुद्दामा पौडेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसार कैद सजाय माग गरिएको उनले बताए। उक्त दफा अनुसारको कसुर स्थापित भए ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुन्छ। यसअघि अख्तियारले आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा हालेको थियो। पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनीयतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का दिएको अख्तियारको ठहर थियो।