सङ्खुवासभा बाढीपहिरो : बेपत्ताको खोजी जारी

किमाथांका - सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ।  गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट बेपत्ता भएकाहरुको खोजी आज पनि जारी छ।

बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका  प्रहरी नायव उपरीक्षक  वीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उनले बताए।

बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा सुरक्षाकर्मी परिचालित छन्। वर्षाका कारण खोजीमा समस्या भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित खोजीमा सक्रिय रहेका छन्। बाढी र पहिरामा परी बेपत्ता भएका सङ्खसवासभाका विभिन्न स्थानका २० जनाको अवस्था अझै अज्ञात छ।

बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि सोमबार एक जनाको मात्र शव फेला परेको छ। उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ।  बेपत्तामध्ये चैनपुर नगरपालिका-४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन्।

बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेँवाखोला हाइड्रोपावरका एकजना मजदुर पनि अझै बेपत्ता छन्। बाढीले बगाउँदा सुपर हेँवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन्।

गम्भीर घाइते दुवैको उपचार भइरहेको छ। चैनपुर नगरपालिका-४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको छ।