पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीलाई पुर्पक्षका थुनामा राख्ने कास्की जिल्ला अदालतको फैसला उच्च अदालत पोखराले उल्ट्याउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यकक्षमै रहेका बेला गत पुस ११ गते पक्राउ परेका पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो ।
सहकारीको शाखा विस्तारका क्रममा कात्तिक ४ गते पक्राउ परेका सहकारीका अध्यक्ष रमन पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई १ करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।
बयानपछि पक्राउ परेका पराजुली पुर्पक्षका लागि थुनामा पठाएको जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए । उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलाशले पराजुलीलाई २० लाख र सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश गरेको हो ।