मनसुनपछिको बाढीपहिरो : १३ जनाको मृत्यु, २६ बेपत्ता, आठ घाइते

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् । राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा सम्बोधन गर्न सकिएको जानकारी दिए ।

बैठकमा गृह मन्त्रालयका तर्फबाट गत जेठ ३१ गतेदेखि यता मनसुनजन्य विपद्मा परी भोजपुर, नुवाकोट, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तनहुँ र गोरखामा गरी १३ जनाको मृत्यु भएको जानकारी दिइयो ।

 उक्त बाढीपहिरोमा परी २६ जना बेपत्ता, आठ जना घाइते हुनका साथै ४१ घर पूर्णरुपमा र  सात घर आंशिक क्षति पुगेको तथ्याङक प्रस्तुत गरियो ।