'एमाले अवैध सुन ल्याउनमा सहभागी छ ! नत्र अलिकति लाज लाग्नुपर्ने होइन र ?' : मुख्यमन्त्री जम्कट्टेल

 काठमाण्डौँ - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अवैध सुन भित्रिएको बारे एमालेमा प्रशन चिन्ह खडा भएको बताएका छन् । 
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले एमाले अवैध सुन ल्याउनमा सहभागी छ ? भन्दै प्रश्न गरेका हुन् ।

उनले अवैध रूपमा ल्याइएको सुन समात्न सफल भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री लगायतलाई बधाई दिनुपर्नेमा एमालेले विरोधमा जुलुस निकालेकोप्रति आफू प्रतिक्रियाविहीन भएको बताए । एमोलेले अवैध सुन समात्नु हुँदैन भन्न खोजेको हो ? भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रश्न समेत गरेका छन् ।

‘अवैध रूपमा लुकाई छिपाई ल्याएको र राजश्व छली गरी एयरपोर्टबाट बाहिर निकाली सकेको अवस्थामा कर्मचारीहरूको सक्रियतामा १०० किलोभन्दा बढी अवैध सुन समातियो र सरकारको नियन्त्रणमा आयो’ उनले भनेका छन्, ‘वर्तमान सरकारको नेतृत्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यु, गृहमन्त्रीज्यु लगायत सबैलाई बधाई दिनुपर्नेमा  अवैध सुन समातेको विरोधमा सडकमा राँके जुलुस निकाल्ने एमाले पार्टीलाई के भन्ने ? के अवैध सुन समाउनु हुँदैन भनेको हो ? कि एमाले अवैध सुन ल्याउनमा सहभागी छ ? नत्र अलिकति लाज लाग्नुपर्ने होइन र ?’