६ नेपाली ब्राण्डका कपडा एकै ठाउँमा पाइने 'मल्टी ब्राण्ड स्टोर' सञ्चालनमा

पछिल्लो समय हामी विदेशी ब्राण्डभन्दा नेपाली बाण्डलाई पछ्याउन थालेका छौं। साथीभाई वा परिवारजन एकै साथ कपडा किन्न गयो तर फरक–फरक ब्राण्ड रोजाइमा पर्ने हुँदा धेरै ठाउँ चहार्नु पर्छ। 

अब त्यो दिन गए। नेपाली कपडा उत्पादन गर्ने पाँच उद्योगी मिलेर 'मल्टी ब्राण्ड स्टोर' सञ्चालनमा ल्याएका छन्। जहाँ याक एण्ड नेक, फ्रिडम, केके, ट्याग, भर्जिन्स र गोफी गरी छ प्रकारका नेपाली ब्राण्डका लुगा कपडा एकै ठाउँमा पाइन्छ।

मल्टी ब्राण्ड स्टोर नयाँ बानेश्वर चोकबाट शंखमूल जाने मार्गको एनएमबी कम्प्लेक्समा पर्छ। यसको मुख्य विशेषता भनेको सहज तरिकाले विभिन्न ब्राण्डका उत्पादन एउटै छाना मुनी पाउनु हो।

multi-brand1-1695379087.jpg

यहाँ केटाकेटीदेखि पाका उमेर समूहलाई समेत हुने लुगा कपडा पाइने स्टोर सञ्चालक मध्येका एक उद्योगी किशोर नेपाल बताउँछन्। उनकाअनुसार ग्राहकले स्टोरमा सर्ट, पाइन्ट, टिर्सट, वानपिस, ज्याकेट लगायतका जाडो र गर्मी दुवैलाई हुने लुगा किन्न पाइन्छ।

आगामी दिनमा उपभोक्ताको चाहना अनुसारका गुणस्तरीय कपडा उत्पादन गर्दै जाने उनले बताए। उनी नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघका अध्यक्ष समेत हुन्। संघमा तीन सय बढी उद्योगी आबद्ध छन्। तीनैमध्ये पाँच उद्योगीको स्टोर हो–मल्टी ब्राण्ड स्टोर। 

'स्टोर सञ्चालनमा ४० देखि ५० लाख रूपैयाँ लगानी छ,' नेपालले भने। फ्याक्ट्रीबाट उत्पादित गुणस्तरीय सामान सिधैं ग्राहक समक्ष पुर्‍याउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याएको नेपालले जानकारी दिए।

उनकाअनुसार फ्याक्ट्रीबाट उत्पादित सामान सिधैं ग्राहक समक्ष पुग्ने यो पहिलो स्टोर हो। 'रिटेलमा लिँदा एउटै सामानको मूल्य फरक–फरक हुन्छ,' उनले भने, 'यहाँ ग्राहकले सरल मूल्यमा पाउँछन् ठगिने डर हुँदैन।' उनकाअनुसार अहिले पाँच उद्योगीले आफूले उत्पादन गरेका ६ ब्राण्डका कपडा स्टोरमा राखिएको छ। आगामी दिनमा अन्य नेपाली ब्राण्ड पनि थपिँदै जानेछ। 

multi-brand-2-1695379162.jpg

मल्टी ब्राण्ड स्टोरको अवधारणा कसरी आयो?  नेपाल भन्छन्, 'फ्याक्ट्रीबाट होलसेल, रिटेल हुँदै उपभोक्ता समक्ष पुग्दा ग्राहकलाई कपडाको मूल्य बढी पर्‍यो। अर्का तर्फ विदेशी कपडा नेपाली उत्पादन भन्दै बेचेको पाएपछि आफैं स्टोर खोल्ने सोच आएको हो।' 

नेपाली उत्पादन गुणस्तरीय भएकाले विदेशीभन्दा तुलनात्मक रूपमा महँगो देखिन्छ। तर, सोही गुणस्तरको सामान विदेशी ब्राण्ड राख्ने हो भने दुई गुणा महँगो पर्ने उनी बताउँछन्। 

यस प्रकारका स्टोरले रोजगारी सृजना गर्नुका साथै नयाँ उद्योग सञ्चालन गर्ने वातावरण समेत बनाउन मद्दत गर्ने उनले बताए। नेपाली उत्पादन पनि विदेशी उत्पादनभन्दा कम छैन भनेर देखाउन मल्टी ब्राण्ड स्टोर सञ्चालनमा ल्याएको अर्की सञ्चालक मुना थापाले जानकारी दिइन्। 

'अझै धेरलाई यहीँ कपडा उत्पादन हुन्छ भन्ने थाहा छैन। कतिपयमा महँगो हुन्छ भन्ने सोच छ,' उनले भनिन्, 'एक पटक प्रयोग गरेर हेर्नुस् नेपाली उत्पादन महँगो छैन।' यस्ता स्टोरले आयात विस्थापन गर्नुका साथै अन्य उद्योगीलाई पनि स्टोर सञ्चालन गर्न प्रोत्साहन मिल्ने उनको भनाइ छ। 

यस प्रकारको स्टोर बुटवल, चितवन, पोखरा, इटहरीलगायत विभिन्न सहरमा खोल्ने योजना रहेको उनले जानकारी दिइन्। असोज ७ गतेसम्म स्टोरमा ग्राहकले २० प्रतिशत छुट पाउनेछन्।