नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको आरोपमा मुद्धा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ४ स्थित श्री मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि.को राहत शिक्षक डिलमाया कुमारी कडेल विरुद्ध अख्तियारद्धारा आज मुद्धा दायर गरेको छ ।

उनले जागिर खाँदा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेकाे र नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पदमा नियुक्त भएकोले आवश्यक कारबाही गरिपाँउ भन्ने उजुरीकाे आधारमा अनुसन्धान हुँदा मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेलले शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकाे प्रमाणित भएकाेले मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालद्धारा जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।

उनले प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।