तातोपानी नाकाको कन्तबिजोग

 काठमाण्डौँ - वैशाख १८ अर्थात् मे १ देखि दुईतर्फी रूपमा तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्म उक्त नाका आंशिक रूपमा एकतर्फी सञ्चालनमा छ । मे १ मा नेपालबाट तीन कन्टेनर मुढा, हस्तकलाका सामग्री, म्याट्रेस चीनतर्फ निर्यात भए पनि त्यसपछिका दिनमा अहिलेसम्म कुनै पनि सामान निर्यात भएको छैन । त्यस कारण तातोपानी नाका कन्तबिजोग र सुनसान छ । 

चीनले निर्माण गरिदिएको मितेरी पुल, बन्दरगाहबाहेक नाकाको सबै भौतिक संरचना, पूर्वाधार, अध्यागमन कार्यालय, सडक जीर्ण र नाजुक अवस्थामा छन् । भूकम्पले ध्वस्त कार्यालयहरू उठ्न सकेका छैनन् । नाकावासी विस्थापित भएका छन् । उनीहरू फेरि नाकास्थित घरमा फर्केर निजी आवास पुनर्निर्माण गरेर बसेका छैनन् । सरकारीदेखि निजी आवाससम्म लथालिङ्ग र भताभुङ्ग छन् । बाढीपहिरो र भूकम्पले क्षति पुयाएका सरकारी कार्यालय, बैङ्क, विभिन्न व्यापारिक सङ्घ, संस्था, होटललगायतका संरचना पुनर्निर्माण भएका छैनन् । 

मितेरी पुलस्थित पुरानो भन्सार कार्यालय जीर्ण बनेको छ । भूकम्पले क्षतविक्षत भएका उक्त भवन ढल्नै लागेको छ । पुरानो भन्सार यार्ड खाली छ । भूकम्पपछि बन्द भएको अध्यागमन कार्यालयको ढोका अहिलेसम्म बन्द हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई ड्युटी गर्दा पानी र घामबाट ओत लाग्ने संरचना छैन । भूकम्प र पहिरोले माथिबाट आएको ढुङ्गा, माटो सडक किनारामा छरपस्ट छन् । माथिबाट आएका ठाडा खोला सडकमा बगिरहेका छन् । मितेरी पुलबाट बाह्रबिसेसम्मको २८ किलोमिटर सडक नाजुक छ ।

कोदारी खण्ड, झयाले भिर, घट्टेखोला, डाक्लाङ, सिरिसे, जम्बु, खाग्दल, चाकु र नयाँ पुलबिचको खण्डको अवस्था नाजुक छ । उक्त सडकखण्डमा मालवाहक कन्टेनर आउजाउ गर्न अति कठिन छ । भोटेकोशी नदीले सडक तानिरहेको छ । माथिबाट पहिरोले सडकमा क्षति पुयाइरहेको छ । सडक मर्मतसुधार कमसल र गुणास्तरहीन छ । सडक मर्मतका नाममा ठेकेदार र उपभोक्ता समितिलाई पैसा कमाउने थलो मात्रै बनेको छ ।