अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारीमा सरकारी वकिलको कार्यालय

काठमाडौँ - जिेल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेलेजानकारी दिए ।

उनले भने, “भोलि बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ, अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन ।”

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।