बसाइँसराइले गाउँ रित्तिन लागेपछि स्याङ्जाका युवाले थाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान

स्याङ्जा - बसाइँसराइले गाउँ रित्तिन थालेपछि स्याङ्जाका युवाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान थालनी गरेका छन् ।

गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगार, खानेपानी, सडक लगायतको असुविधाका कारण बसाइँसराइ बढ्न थालेपछि गाउँघर शून्य बन्न थालेको थियो । गल्याङ नगरपालिका–९, गेझाका युवाले स्वरोजगार सिर्जना गरेर सबैको आर्थिक स्थितिमा सुधार गर्ने र गाउँलेलाई गाउँमै अड्याउन सामूहिक गाईपालन गरेका छन् ।

चार युवा कुसुम भण्डारी, विष्णु भण्डारी, तारा भण्डारी र प्रेम भण्डारीको सक्रियतामा सञ्चालित मुरी एग्रो गाई फार्म प्रालि, म्युजिकल होमस्टे, सङ्गीत समूह एवं पाठशाला, युवा जागरण कृषि सहकारी, कालिका भगवती मन्दिर पर्यटकीय योजना, साना तथा मझौला व्यवसायबाट धेरै जना स्वरोजगार बनेका छन् ।

गाईपालनमा लागेका युवाले धेरैभन्दा धेरै युवालाई जन्मथलोमा स्वरोजगार बन्न प्रेरणा दिने, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्यका लागि सरोकारवाला निकायसँग पहल गर्दै आएका छन् । यहाँका युवाको सल्लाहअनुसार गाउँमा खाली बसेका गाईपालन, बाख्रापालन, तरकारी खेतीलगायतका उद्यममा जोडिएर अर्थोपार्जन गरिरहेका छन् ।

अढाइ वर्ष पहिले सञ्चालित मुरली एग्रो फर्म प्रालि उदाहरणीय भएपछि अध्ययन अवलोकानको थलो बनेको छ । चार युवाले रु ३० लाखको लगानी गरेर १३ गाईबाट व्यवसाय सुरु गरेका थिए । हाल फार्ममा होलिस्टन र जर्सी क्रस जातका २८ गाई छन् । rss