श्री लालीगुराँस सहकारी ठगीमा नौ विरुद्ध मुद्दा दायर

ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी सहित नौ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको  कार्यालय  ललितपुरले नेपाली कांग्रेस सहकारी विभागका पूर्वसचिव समेत रहेका भण्डारी सहित नौविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारी अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, सचिव तथा सीईओ सुरेन्द्र भण्डारी,  कोषाध्यक्ष अमृतकुमार अर्याल, सञ्चालकहरू कदम जोशी (प्रधान) र भोलाकुमार श्रेष्ठलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको हो । त्यसैगरी सहकारीका लेखा समिति संयोजक पूण्यप्रसाद पोखरेल, लेखा समिति सदस्य विद्यादेवी पाण्डे र तिमिला रञ्जितलाई प्रतिवादी बनाउँदै रिट दायर गरेको हो ।

प्रतिवादीमध्ये  प्रहरीले सहकारी अध्यक्ष अमरदास श्रेष्ठ, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल, सञ्चालकहरू कदम जोशी (प्रधान) लाई प्रक्राउ गरी बयान समेत लिएको छ ।  अन्य प्रतिवादी फरार छन् । विभिन्न तथ्य र प्रमाण तथा प्रहरी प्रतिवेदन समेतका आधारमा ‘श्री लालीगुराँसको भविष्य उज्वल छ, आर्थिक अवस्था असाध्यै सबल छ भनी संस्थाकै गतिविधि झल्काउने गरी प्रतिवेदन सहित हाम्रो संस्थामा लगानी गर्नुहोस्’ भनी आकर्षक ब्याजको प्रलोभन देखाउने गरेको पाइएको सरकारी वकिलको कार्यालयले दायर गरेको प्रतिवेदनमा उल्लेख छ ।