घुस लिएको आरोपपछि कम्पनी रजिष्ट्रार ईश्वरकुमार गिरी र अधिकृतद्वयलाई मन्त्रालय तानियो

कम्पनी रजिष्ट्रारको कार्यालयको निमित्त रजिष्ट्रारमा देवीप्रसाद सुवेदीलाई तोकिएको छ । कार्यालयको अनलाइन सिस्टममा चलखेल गरी खुलेआम रूपमा घुस लिएको आरोपपछि कम्पनी रजिष्ट्रार ईश्वरकुमार गिरीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तानेर सुवेदीलाई निमित्त रजिष्ट्रार तोकिएको मन्त्रालयले जनाएको छ ।  

बुधबार रजिष्ट्रार गिरी र उपरजिष्टार सोमराज बराल सहायक रजिष्ट्रारद्वय रविन कार्की र भीमप्रसाद पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले स्पष्टीकरण सोधेको थियो ।

उनीहरूलाई विभागीय कारबाही गर्ने प्रयोजनका लागि निजामती सेवा ऐनको दफा ६६ अनुसार छानबिन समितिले स्पष्टीकरण सोधेको जनाइएको छ । यसअघि घुस लिएको विवादपछि कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीको सरुवा गरिएको थियो । 

कार्यालयमा नयाँ कर्मचारी नियुक्त गरी स्वरूपलाई फङसनल बनाउने मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले जानकारी दिए । ‘त्यहाँ चाहिने जनशक्ति वाणिज्य विभाग लगायत अन्य विभागबाट सरुवा गरेर पठाउँदैछौँ । काम प्रभावित नहोस् भनेर सामान्य प्रशासनदेखि सबै पदमा नयाँ कर्मचारी मागेका छौँ,’ उनले भने, ‘आज भोलि नै करिब ३१ जना कर्मचारी नियुक्त गरेर कार्यालयको स्वरूपलाई फङ्सनल बनाउने हिसाबले कोसिस गर्दैछौँ ।’