तरकारि खेतीमा अब्वल धादिङ : किसानहरु भन्छन्-‘खेती जताबाट पनि अभावको पेसा रहेछ’

सन्तोष सुवेदी________________

धुनिवेशी - धादिङ गजुरी गाउँपालिका वडा नम्बर-१ कि निर्मला खरेलले ब्यबसायिक तरकारी खेती गर्न थालेको करिव चार दशक बितिसकेको छ । उमेरले २० हान्दै गर्दा खेती किसानमै रमाउन थालेकी खरेल अहिले पनि यहि पेसामै रमाई रहेकि छिन् । उनी भन्छिन्-” मैले तरकारी खेती गर्न थालेको करिव ४५ बर्ष भयो, फलेको तरकारी बजारमा लगेर बेच्छु, दुई,तीन क्विन्टलसम्म बजारमा लगेर बेचीँ”, उनी थप्छिन्- ‘यो हिसावले बेच्दा बार्षिक झण्डै दुई लाखजति आम्दानी हुन्थ्यो, तर अहिले यसरी खेती किसानमै रमाउन उमेरले साथ दिन छाडेको उनी बताउँछिन् ।’

धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ११ मा टेक बहादुर लुईटेलको तरकारी खेती छ । तरकारी खेतीमा उनी रातदिन नभनी काम गर्दै आईरहेका छन् । उनको पनि तरकारी खेतीको अनुभव लामै छ । पढाई, लेखाई नहुँदा अन्त जागिर नपाउने अबस्थाले ५२ साल बाटै तरकारी खेतीमा पौठेँजोरी खेल्दै आएको उनि बताउँछन् ।

मैले तरकारी खेती गर्न थालेको ५२ सालबाटै हो, मेरो जग्गामा मैले करेला, काउली, फर्सि, बोडी लगातका हिउँदे तरकारी लगाउँदै आएको छु,’ उनी भन्छन्-‘भाउ पर्दा त राम्रो आम्दानी हुन्छ, तर बजारमा बिचौलियासँग नै तरकारी बेच्नुपर्ने अबस्था र स्थिर मुल्य नहुने भएकाले समस्या हुने गरेको छ ।’

धुनिवेशी नगरपालिका वडा नम्बर ६ का किसान भिमसेन आचार्यको पिडा भने अलि फरक छ । उनी भन्छन्-‘तरकारी खेती धेरै गर्ने मनमा सोच छ, तर कहीबाट पनि अनुदान, सहुलियत पाएको छैन,’ जग्गा राखेरै पैसा निकाल्छु भन्दा पनि सोचेजति पैसा नपाईने रहेछ ।’ उनले थपे -”मलको सास्ती पनि उस्तै छ, तरकारीलाई हाल्ने मलकै अभाव, बिषादीकै अभाव, निराश हुँदै उनी भन्छन् किसानलाई जताबाट पनि अभाव नै अभाव हुने रहेछ ?”

माथीका केहि ब्यक्ति प्रतिनिधी पात्र मात्र हुन् । धादिङ जिल्ला अन्य जिल्लाको तुलनामा तरकारी खेतीमा अब्वल छ । सिँचाईको राम्रो ब्यबस्था, मल बिउ ढुवानीमा सहजता तथा उर्वर जमिन भएकाले उत्पादन बढी हुने कृषि बिज्ञहरु नै बताउँछन् । अन्यत्र सजिलै रोजगारी नपाउने समस्या तथा ब्यबसायिक खेती गर्ने सोचले पनि अधिकांश किसानहरु तरकारी खेतीमै रमाईरहेका छन् । तर खेती किसान गर्नेलाई भने सजिलो छैन । मल देखी बिउबिजन सम्म भनेको समयमा नपाउने र समयमै बर्षा नहुने कारणले पनि सास्ती भोग्नुपरेको पिडा धेरै छन् ।

तरकारी खेतीमा आएको यस्ता समस्याहरुका बाबजुत पनि धादिङमा उत्पादन राम्रो रहेको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमल राज शर्मा बताउँछन् । बिषेशगरि धादिङको धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका लगायतमा तरकारी उत्पादनको हिस्सा बढी रहेको अधिकृत शर्माको भनाई छ ।

उनी भन्छन्- ‘नेपाल सरकार, प्रदेश तथा स्थानियतहमा आकर्षक योजनाहरु आएकाले पनि कृषिमा लाग्ने ब्यक्तिहरुको संख्या बढीरहेको छ, जिल्ला कृषि ज्ञान केन्द्र धादिङको तथ्याङ्क अनुसार ७ हजार ६१ हेक्टर जमिनमा तरकारी खेती हुने गरेको छ ।’ उनले थपे- ‘तरकारी उत्पादन भने करिव ९२ मेट्रिक टन हुने गरेको छ ।’

धादिङमा तरकारी उत्पादन बढे पनि बिषादी बिनाका तरकारी पाउन भने कठिन छ । आफ्नै भान्साको लागी थोरै उत्पादन गरे पनि बजार लैजाने तरकारीमा अन्धाधुन्ध बिषादी प्रयोग गर्ने गरेको किसानहरु स्वयम् बताउँछन् । आधुनिक खेतीमा जोड दिँदै केन्द्र देखी स्थानिय तहले बिषादीमुक्त तरकारी उत्पादनमा पहल गर्नुपर्ने उपभोक्ताहरुको माग छ ।