नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

काठमाण्डाै महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन दिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना निकालेर अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन गरेको हो ।

महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको महानगरले जनाएको छ ।

महानगरका शिक्षा अधिकारी कोइरालाले विद्यालयले विद्यार्थी भर्नासम्बन्धी कुनै सूचना प्रकाशित गरेको पाइएमा महानगर शिक्षा ऐन, २०७५ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिए ।