भारतमा विद्युत् निर्यात सुरु, हिजो एकैदिन ६ सय मेगावाट बिजुली बेचियो

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । हिजो झण्डै ६ सय मेगावाट विद्युत् भारत पठाइएको उन बताए ।

आज प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको र भोलिदेखि पुनः नियमित निर्यात हुने उनले बताए । नेपालले केही अघिसम्म दैनिक ४ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा पछिल्ला केही दिन वर्षा भएकाले उत्पादन बढेर निर्यात गर्ने अवस्थामा पुगेको भट्टराईले बताए । तर वर्षा रोकिएमा भने उत्पादन घटेर आयात गर्नुपर्ने अवस्था आउन पनि सक्ने उनको भनाइ छ ।