अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो

काठमाडौं ।  देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला गोरखा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन। साथै खडेरीले बर्खे बालीका रूपमा लगाइएका बाली पनि सुक्न लागेका छन्। 

जिल्लाको बढी धान हुने च्याङ्लीको मजुवा चारसय बगर टारर लगायतका ठाँउमा उल्लेख्यरूपमा अझै धान रोपाइँ हुन सकेको छैन। पानीका भल छोपेर रोप्नुपर्ने पाखे खेतमा रोप्न राखिएको धानको बीउ छिप्पिन लागिसकेको छ। बीउ छिप्पिएपछि धान रोप्नु र नरोप्नुको कुनै अर्थ नहुने कृषि विज्ञ बताउँछन्। 

धान रोप्नेमात्र नभई पाखो बारीमा छरिएका बर्खे बाली भटमास, तिल, कोदोलगायतका बाली पनि खडेरीका कारण सुक्न लागेका हुन्। जिल्लामा बिहान बेलुका सामान्य धुलो मर्ने गरी कहिलेकाहीँ पानी पर्ने गरेको भए पनि जमिन भिज्ने र खोलानाला आउने गरी दुई महिनाअघिदेखि पानी पर्न सकेको छैन। 

 वर्षाको समयमा पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन नसकेको हो। यसअघि असार १५ गते धान रोपेर धान दिवस जिल्लाका विभिन्न पालिकामा मनाइएको भए पनि त्यसपछि भने पर्याप्त वर्षा नहुँदा जिल्लाका किसानले धान रोप्न पाएका छैनन्।