हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट आज बिहान १० बजे हुनेछ । बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यले बताए ।
“हामी बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारीमा छौँ,” वैद्यले भने, “सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजे बालुवाटारको ताज रिसेप्सनबाट आईपीओ बाँडफाँट हुन्छ ।” कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।
आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ । आवेदनको अन्तिम दिनसम्म तीन करोड २२ लाख १५ हजार कित्ता आईपीओ माग गरेका छन् । केही आवेदनहरू रद्द हुने भएकाले न्यूनतम १० कित्ता र त्योभन्दा बढी माग गर्नेहरूले ३० कित्तासम्म आईपीओ पाउने अनुमान गरिएको छ ।