सिरहा नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूले भवन निर्माण गर्ने क्रममा गलत सम्झौता गरी ३४ लाख ३९ हजारभन्दा बढी भ्रष्टाचार गरेको र बनाइएको भवनसमेत प्रयोगविहीन भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले मंगलवार विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख सञ्जयप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा अनियमितता भएको अख्तियारको निष्कर्ष छ ।

३७ लाख ७५ हजार ४ सय ३६ रुपियाँको लागत रहेको भवन उपभोक्ता समितिमार्फत गर्ने गरी २०७७ जेठ ३२ मा सम्झौता भएकोमा गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १ सय ८९ रुपियाँ भुक्तानी गरिएको साथै भवन पनि उपयोगविहीन भएको पाइएको छ ।