आज ईन्द्रजात्रा, इन्द्रको पूजा–आराधना गरी मनाईदै, यी स्थानमा आज सवारी चलाउन नपाइने

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
 
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
 
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । 

काठमाडौंका विभिन्न स्थानमा आजदेखि तीन दिन सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो । 

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ । आज बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म सवारी साधन चलाउन पाइने छैन ।

असोज १२ गते (भोलि) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

त्यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं,  इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ ।

Indra-jatra-sawari-1695860516.jpg