प्रधानसेनापतिको रोलक्रमका रहेका उपरथी अशोक सिग्देलको जन्ममितिबारे पूर्व सैनिक अधिकृतहरुद्धारा अख्तियारमा उजुरी

प्रधानसेनापति बन्ने रोलक्रममा रहेका नेपाली सेनाका उपरथी अशोक सिग्देलको जन्ममिति विवादमा परेको छ ।  जन्ममिति विवादकै कारण केही दिनअघि अर्का उपरथी ताराध्वज पाण्डेले राजीनामा गरेका थिए ।

पाण्डेको राजीनामा स्वीकृत हुँदा नहुँदै सिग्देलको जन्ममिति विवादमा आएको हो । उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक मिति देखिएपछि उनी विवादमा तानिएका हुन् ।  सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको आरोप लगाउँदै पूर्व सैनिक अधिकृतहरुद्धारा यही मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी गरेको छ ।

नेपाली सेनाले गत शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरिएको र उनकाविरुद्ध उजुरी भए एक साताभित्र दर्ता आव्हान गरेको छ । “शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन् उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्,” अख्तियारमा उपरथी सिग्देलविरुद्ध परेको उजुरीमा उल्लेख गरिएको छ । 

उजुरीमा उपरथी सिग्देलको शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेरबारे आवश्यक छानबिन गरी कारवाही गर्न अख्तियारसँग माग गरिएको छ ।