प्रहरी नायब निरीक्षक ३० हजार घुससहित पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउद घुस रकमसहित पक्राउ परेका छन्। मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई साउद ३० हजार रुपैयाँ घुससहित पक्राउ परेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

उनी बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। लागुऔषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना अख्तियारले पाएपछि टोली खटिएको थियो। उनलाई अख्तियारले ३० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।