यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वीरगञ्ज पर्सामा अधिकृत (आठांै तह) मा कार्यरत कमलराज गौतमले विभिन्न समयमा प्राप्त गरेको २ करोड ५१ लाखभन्दा बढी घुस रकम घरजग्गा खरिद, सेयर किनबेच, घर बनाएको ऋण तिर्ने, सुन खरिद तथा सापटी दिनेलगायतका काममा प्रयोग गरेको पाइएको छ । घुसबापतको रकमबाट जग्गा किनबेचको कारोबार गरेको र त्यसबाट गौतमले ठूलो परिमाणमा गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यातायात कार्यालयमा बस्दा विभिन्न समयमा घुस रकम लिएको र सो रकम गौतम र उनकी श्रीमती सरला नेपालले विभिन्न काममा परिचालन गरेको भन्दै अख्तियारले गौतम र नेपालविरुद्ध गत ३ जेठमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारका अनुसार निज गौतमले घुसबापत प्राप्त २ करोड ५१ लाख रुपियाँको परिचालन गर्न घरजग्गा किन्ने, बिक्री गर्ने, सञ्चय कोषमा ऋण तिर्ने, सेयर खरिद गर्ने, छोराछोरीलाई एमबीबीएस पढाउने, सुन खरिद गर्ने, विभिन्न व्यक्तिलाई सापटी दिनेलगायतका काममा ६८ पटक कारोबार गरेको पाइएको छ । गौतमले घुस रकमकै सहयोगमा भक्तपुर साविक दिव्यश्वरी–७ मा ८ आना जग्गा र सो जग्गामा ४ तले घर बनाएका थिए । यसै गरी गौतमले घुस रकमकै मुख्य आधारमा रूपन्देही सौराहा फर्दाटिकर–५ मा २० कट्ठा जग्गा खरिद गरेका छन् । गौतमले रूपन्देही फर्साटिकरमा नै पुन ०१११७ वर्गमिटर जग्गा खरिद गरेका छन् । यस्तै, गौतमले घुसबापतकै रकम प्रयोग गरी रूपन्देहीकै करहिया–१ मा १५२.३९ वर्गमिटर जग्गा किनेका छन् । गौतमले विभिन्न समयमा गरी घरजग्गामा मात्रै करोड बढी लगानी गरेका छन् । सो रकम उनको गैरकानुनी स्रोतबाटै आर्जन भएको देखिएको अख्तियारका अनुसन्धान अधिकृतहरूको भनाइ छ ।
यस्तै, कमल र उनकी श्रीमती सरलाले चितवन मेडिकल कलेजको नबिल बैंकको खातामा छोरी सुप्रिया गौतमको एमबीबीएस अध्ययन खर्चको ५० लाख पनि घुस रकमबाटै तिरेको पाइएको छ । यसै गरी उनीहरूले घुसबाटै प्राप्त २० लाखभन्दा बढी रकम सञ्चयकोषमा तिरेको पाइएको छ भने कमलकी श्रीमती सरलाले घुसबाटै प्राप्त रकम विभिन्न कम्पनीमा ७ सय कित्ताभन्दा बढी सेयर खरिद गरेकी छिन् ।
यसै गरी घुसबापत आएको झण्डै ५० लाख रुपियाँ उनीहरूले विभिन्न व्यक्तिहरूलाई सापटी दिएका छन् । अख्तियारले कमल र सरलाको नाममा रहेको सबै सम्पत्ति ५ करोड ४० लाख ९८ हजार ९ सय ५५ रुपियाँ फेला पारेको र जाँच अवधिको कुल समग्र आय २ करोड ८९ लाख २० हजार २ सय ६८ मात्रै देखिएकाले बाँकी २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ को स्रोत पुष्टि हुन नसकेकाले सो रकम अनियमित किसिमले आर्जन भएको अख्तियारको ठहर छ ।
यस्तै, गौतमले घुसबापत प्राप्त गरेको लाखौं रुपियाँ सुन खरिदमा समेत प्रयोग गरेका छन् । यस अवधिमा कमल र सरलाको विभिन्न बैंकमार्पmत २ करोड ८९ लाखभन्दा बढी पैसाको कारोबार भएको छ । गौतम र उनकी पत्नीसँग अख्तियारले २ करोड ८९ लाख २० हजार २ सय ६८ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो ।