नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको छ । उनी पक्राउ परेसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ गरेका थिए ।

पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ । आइतबार भट्ट र अर्यालविरुद्ध ५ दिनको म्याद थप भएको हो । सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीको भनाइ छ ।

यो समूहले ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरुको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स जारी गर्दै बिक्री गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । एउटा केशबाट प्रहरीले यो प्रकरणलाई अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा भने थुप्रै लाइसेन्सहरु यसैगरी जारी भएको हुनसक्ने देखिएको छ ।