चार लाख घुस लिने इन्जिनियर र लेखापाललाई आठ महिना कैद

चार लाख रुपैयाँ घुस लिएको भन्दै विशेष अदालतले दुईजनालाई जनही आठ महिना कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। सोमबार विशेषका सदस्यत्रय तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। विशेषका अनुसार चारमध्ये दुई प्रतिवादीले भने सफाइ पाएका छन्। विशेषले ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाइ झापाका आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान र इन्जिनियर धर्मेन्द्रकुमार झालाई सफाइ दिएको हो।

अन्य दुई प्रतिवादी तथा उक्त आयोजनाका इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेल भने दोषी पाइएका छन्। ठेक्का सम्झौताअनुसारको निर्माण कार्यको अन्तिम बिल भुक्तानीबापत चार लाख रुपैयाँ घुस लिएको ठहर विशेषले गरेको छ। उनीहरूलाई आठ–आठ महिना कैदका साथै जनही दुई लाख रुपैयाँ बिगोबराबर जरिवाना हुने फैसला भएको हो। चारै प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ७ साउनमा मुद्दा चलाएको थियो।

सेवाग्राहीसँग घुस मागिरहेको उजुरी आयोगको इटहरीस्थित कार्यालयमा परेको थियो। जसपछि शर्मा र पौडेललाई चार लाख नगद लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। पक्राउ परेकाहरूले सिडिई चौहान र इन्जिनियर झासँग मिलेमतोमा घुस लिएको बताएका थिए। जसपछि चारैजनामाथि मुद्दा दायर भए पनि दुईजनाले सफाइ पाएका हुन्।